‘सिद्धबाबा’लाई अपशब्द प्रयोग गरेको भन्दै रोशनी शाही नियन्त्रणमा

होमल्याण्ड खबर

२०७९ श्रावण १० गते, मंगलवार १६:३३ मा प्रकाशित

अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अपशब्द प्रयोग गरेको भन्दै एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गिरीले पशुपतिनाथ मन्दिरको परिसरमा ‘अतिरुद्र महायज्ञ’ सञ्चालन गरिरहेका छन् । जिल्ला अदालत, सुनसरीमा उनीविरुद्धको बलात्कार मुद्दा विचाराधीन छ ।

मंगलबार महायज्ञ चलिरहेको ठाउँमा रोशनी शाहीले गिरीलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको प्रहरीको भनाइ छ । त्यसैले असहज परिस्थिति सिर्जना नहोस् भनेर उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार शाहीले गिरीलाई ‘बलात्कारी’ भनेकी थिइन् । लगत्तै नजिकै रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरी वृत्त, गौशालाका डीएसपी केशव भट्टराईले उनलाई श्रीमानको जिम्मा लगाएर छाडिएको  बताए । उनले भने, ‘होहल्ला भएपछि सोधपुछका लागि ल्याइएको थियो, छाडिसकेका छौं ।’