सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

होमल्याण्ड खबर

२०७९ श्रावण २० गते, शुक्रबार १०:२५ मा प्रकाशित

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा सुरु भएको छ । निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिलो गरी बैठक विहान १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो । मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका हुन् ।

यो चुनावमा पनि गठबन्धन दलका वीचमा चुनावी सहकार्य गर्ने विषयमा गठबन्धन दलहरु सहमत छन् । जसकाकारण सिट बाँडफाँटका विषयमा आजको बैठकमा छलफल हुने नेताहरुको भनाई छ । आजको बैठकले निर्वाचनमा सीट तालमेलका लागि एउटा कार्यदल बनाउने तयारी रहेको एक नेताले जनाएका छन् ।

यसअघि स्थानीय तह निर्वाचनमा महानगर, उपमहानगरसहित कतिपय स्थानमा गठबन्धन गरेर निर्वाचन गरेर ति दलले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने जनाएका छन् । नेपाली कांग्रेसले त केही समयअघि बसेको केन्द्रीय समिति बैठकबाट तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने अन्य दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजावादीले पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेका थिए ।

बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायतका नेताहरु सहभागी छन् । आजको बैठकमा संक्रमणकालिन न्यायसँग सम्वन्धित विषयमा पनि गठबन्धन दलको बैठकमा छलफल हुने गरी तयारी गरिएको छ । त्यसका लागि नेताहरुले कानुनमन्त्री गोविन्द बन्दीलाई पनि बैठकमा आमन्त्रण गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि देखि ५ दिने जापान भ्रमणमा निस्कन लागेकाले त्यसवीचमा सत्ता गठबन्धन दलका नेताहरु रहेको एउटा कार्यदल बनाउने र त्यसले बनाउने नीतिगत मापदण्डका आधारमा प्रचण्ड जापानबाट फर्केपछि शीर्ष तहमा छलफल गरेर सिट वाँडफााट टुसग्गो लगाउने गरी गठबन्धन दलका नेताहरुको तयारी रहेको छ ।