५० प्रतिशत महिला उम्मेदवार अनिवार्यको प्रस्ताव प्रतिनिधि सभामा पेस हुँदै

होमल्याण्ड खबर

२०७९ श्रावण २४ गते, मंगलवार ११:१८ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजकालागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

दोस्रो जनआन्दोलन २०६२र०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई संविधानले स्वीकार गरेको परिवेशमा महिलाको उल्लेखनीय सहभागिता नभएकाले आगामी निर्वाचनमा प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्दै आजको बैठकमा जरुरी सार्वजनिक महत्वको विषयमाथि विभागीय मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधि सभामा समेत यस विषयमा छलफल गर्न माग गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उमेदवारी दिनुपर्ने, स्थानीय तहको निर्वाचनका विभिन्न पदमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उमेदवारी दिनुपर्ने र वडा तहमा दलित महिलाको उमेदवारी नपरेमा अल्पसंख्यक वा सीमान्तकृत वा अरु कुनै समुदायबाट महिलाको उमेदवारी आह्वान गर्ने व्यवस्था गर्नेलगायत सुझावहरु दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।