९ मंसिर २०८१, आईतवार
एजेन्सी । युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो । पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु भएको बताइएको छ ।
आक्रमणमा परी ११ वर्षीय बालकको पनि मृत्यु भएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए। आक्रमणमा परी ५० जना घाइते भएको उनले बताए । यस विषयमा रुसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
उसले पटकपटक आफूहरूले नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण नगरेको बताउँदै आएको छ । जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताए ।
गत अप्रिलमा फरक रेल स्टेसनमा भएको आक्रमणमा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । युक्रेनले बुधबार आफ्नो स्वतन्त्रता दिवस मनाएको छ र जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले वाधा पुर्याउन क्रुर कार्य गर्न सक्ने बताएका थिए।