९ मंसिर २०८१, आईतवार
संयुक्त राष्ट्रसंघले चीनमाथि उइगुर मुश्लिम समुदाय विरुद्ध मानवता विराेधी अपराध गरेको आरोप लगाएको छ ।
राष्ट्रसंघीय मानवअधिकार आयोगले चीनको सिञ्चियाङ प्रान्तका अल्पसंख्यक उइगुर मुश्लिम आदिबासी समुदाय विरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको आरोप लगाएको हो । राष्ट्रसंघको बहुप्रतिक्षित प्रतिवेदनमा उइगुर मुश्लिमहरुलाई बन्धक बनाउने र बिनाकारण कानूनी कारबाही गर्ने गरिएको जिकीर गरिएको छ ।
चिनियाँ सत्ताका ती कार्यहरू अन्तर्राष्ट्रिय अपराध र विशेषगरी मानवता विरुद्धको अपराध हुन सक्ने राष्ट्रसंघीय प्रतिवेदनको दलिल रहेको छ । त्यस्तै बेइजिङले उइगुर समुदायमाथि बाध्यकारी श्रम तथा नियन्त्रित प्रजनन लागू गरेर मानवअधिकार उल्लंघन गरेको तर्क पनि गरिएको छ ।
चीनले सार्वजनिक नगर्न आग्रह गर्दै आएको प्रतिवेदन राष्ट्रसंघीय मावनअधिकार मुख्य आयुक्त मिशेल बाचेलेटको कार्यकालको अन्तिम दिनको मध्यराति सार्वजनिक गरिएको हो । प्रतिवेदनमा मानवअधिकार उल्लंघनलाई बढवा दिने नीतिहरू संशोधन गर्न चीनलाई सुझाव दिइएको छ ।
चीनले भने पश्चिमा देशहरुको उक्साहटमा कथा बनाइएको प्रतिक्रिया दिएको छ ।