जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुदै

होमल्याण्ड खबर

२०७९ कार्तिक २९ गते, मंगलवार १०:४२ मा प्रकाशित

विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ ।

सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ शिखर सम्मेलन सुरु हुँदैछ । आज र भोलि हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा मुख्य प्राथमिकताका विषयमा छलफल केन्द्रित हुनेछ ।सम्मेलनमा रुसले युक्रेनमा गरेको आक्रमण, बढ्दो खाद्य असुरक्षालगायतका विषयमा पनि छलफल हुनेछ । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, बेलायती प्रधानमन्त्री ऋषि सुनक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी , रुसी विदेशमन्त्री सर्गेइ लाभरोभको उपस्थिति भएकाछन् । सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्तासमेत भएको छ । बालीमा तीन घण्टा लामो भेटवार्तामा शीर्ष दुई नेताबीच द्वन्द्व टार्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण रहेने बताएकाछन् ।