रुसले युक्रेनका भौतिक संरचनामा पुनः आक्रमण गर्दा ७ जनाको मृत्यु, दर्जनौं घाइते

होमल्याण्ड खबर

२०७९ मंसिर २ गते, शुक्रबार १५:३० मा प्रकाशित

रुसले युक्रेनी भौतिक पूर्वधारहरुमा फेरी भीषण हवाई हमला गरेको छ । हवाई हमलाका कारण युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक रुपमा क्षति पुगेको हो ।

युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ७ जना मानिसको मृत्यु भएको छ । दर्जन बढी मानिस घाइते भएका छन् । रुस युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला रुसले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर आक्रमणलाई तीव्रता दिएको हो । पूर्वी क्षेत्रमा रहेको ग्यास उत्पादक कारखाना र डेनिप्रोमा रहेको क्षेप्यास्त्र उत्पादन गर्ने सैन्य कारखाना पनि ध्वस्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले जानकारी दिएका छन । रुसको ताजा आक्रमणका कारण १ करोड युक्रेनी जनता अन्धकारमा बस्न बाध्य भएको पनि उनले बताएका छन । रुसको पछिल्लो आक्रमणको निशानामा डेनिप्रो परेको छ ।

कीभको सैनिक प्रशासनले दुई वटा रुसी क्षेप्यास्त्र तथा इरानमा बनेका पाँचवटा मानवरहित विमान खसालेको दावी गरेको छ । स्थलयुद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बढाएको हो । यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले कृष्णसागरबाट खाद्य सामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको ४ महिना अघिको सहमतिको म्याद समाप्त हुनु केही दिन अघि उक्त सहमति थप भएको घोषणा गरेका छन ।