पेरुले पायो महिला राष्ट्रपति, अघिल्ला राष्ट्रपति महाअभियोग लागेर पदमुक्त

होमल्याण्ड खबर

२०७९ मंसिर २२ गते, बिहीबार ११:०८ मा प्रकाशित

पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ । यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन् ।

यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले जनाएको छ ।

यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो । त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

६० वर्षीया बोलुआर्तेले राष्ट्रपति पद सम्हालेपछि आफू सन् २०२६ सम्म यो पदमा रहने बताइन् । अघिल्ला राष्ट्रपति पेड्रोको कार्यकाल पनि सोही समयसम्म थियो ।बीबीसीले बुधबार पेरुमा नाटकीय रुपमा राजनीतिक घटनाक्रम विकास भएको उल्लेख गरेको छ । बुधबार राष्ट्रपति पदबाट मुक्त हुनुअघि पेड्रोले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै संकटकाल लागू गर्ने घोषणा गरेका थिए । उनले विपक्षी दलको बहुमत रहेको संसद भंग गर्ने घोषणासमेत गरे । त्यसपछि सरकारका धेरै मन्त्रीहरुले त्यसको विरोध गर्दै राजीनामा दिएका थिए ।