दुई हजारभन्दा बढी असहायकी ‘आमा’ उपसभामुख इन्दिरा राना

होमल्याण्ड खबर

२०७९ माघ ८ गते, आईतवार १०:५७ मा प्रकाशित

कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधि सभाको उपसभामुख बनेकी छन् ।

झापाको अर्जुनधारा–११ सालबाडीकी उनको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् ।

जीवनका ५२ वर्षे उकाली–ओराली बिताइसकेकी उनलाई हिजाे प्रतिनिधि सभाको बैठकले उपसभामुख पदमा निर्वाचित गर्यो । अब उनि कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्त्वपूर्ण जिम्मेवारीमा पुगेकी छन् ।

बुवा स्व.प्रताप रानामगर र आमा स्व.मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा २०२७ सालमा झापाको अर्जुनधारामा जन्मिएकी उनले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाण्डौमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिईन् । उनलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिएकी थिईन् ।

घर छाडेर काठमाण्डाैमा पढ्न जाँदा उनलाई पारिजातले नै संरक्षण प्रदान गरेकी थिईन् । अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उनले औपचारिक शिक्षा प्रारम्भ गरेकाे उनका दाजु जगत् रानामगरले बताए । उनले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिकेकी छन् । उनकी एउटी छोरी सुविना राना छन् ।

पारिजातले सञ्चालन गरेको मानवअधिकारवादी संस्थामा उनले स्वयंसेवक बनेर मानवीय सेवाको थालनी गरेकी थिईन् । पारिजातसँगै कारागार जाँदा उनले कैदीबन्दीका दुःख र पीडामात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाको समेत जानकारी पाएकी थिईन् ।

उनले बन्दी सहायता नेपालमार्फत् झापा, पाल्पा, काठमाण्डाैलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालन गरिन । तिनीहरूलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गरेको उनले नै झापामा सञ्चालन गरेको जुनकिरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिए ।

बन्दी सहायता नेपाल (पीए नेपाल) की अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन । उन लगातार बालअधिकार र मानवीय सेवामा लागे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गठन हुँदासमेत उनि कुनै पार्टीमा थिईनन् ।

रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उनि सुरुमा अलमलिएकी थिईन् । भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीतिमार्फत् पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उनि राजनीतिमा होमिईन् । छोटो अवधिमै रास्वपाले उनलाई समानुपातिक सिटबाट सांसद् निर्वाचित गर्यो । अब उनिको जिम्मेवारी सांसदबाट धेरै माथि उक्लिएर संसद्कै अभिभावक अर्थात् उपसभामुख तहमा पुगेको छ ।

उपसभामुख पदमा पुगेपछि दलगत राजनीतिमा सक्रिय हुने परम्परा छैन । उपसभामुख राना पनि छोटो अवधिमै राज्यको उपल्लो मध्येको पदमा पुग्न सफल भईन् । उनले आफूलाई जहिल्यै भुइँमान्छेको रूपमा चिनाउछिन् ।

एक हप्ताअघि झापामा रहेकाे बाल संरक्षणगृहमा सांसदको रूपमा आउँदा उनले आफू जुनसुकै ओहोदामा पुगे पनि कैदीबन्दीका बालबच्चाहरूको आमाका रूपमा आफ्नो भूमिका कहिल्यै नफेरिने भावुक अभिव्यक्ति दिएकी थिईन् । ‘हिजो भुइँमान्छे थिएँ, आज पनि उही भुइँमान्छे नै हुँ’, उनले भनेकी थिईन्, ‘हिजो बालअधिकारका लागि सडकबाट कराउँथे, कसैले सुन्दैन थिए । अब त्यही आवाज संसदभित्र गुञ्जाउँछु । मेरो आवाज अब सुनिनेछ भन्ने विश्वास लिएकी छु ।’

सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उनको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थाल्यो । सन् २००५ मा उनले प्रतिष्ठित ‘अशोका फेलो’ पाईन् । विभिन्न दाता र शुभचिन्तकहरूले उनको सत्कर्मलाई साथ दिँदै आर्थिक सहयोग पनि गर्न थाले । पुरस्कार र सम्मानबापत पाएको सबै साधन स्रोत उनले व्यक्तिगत वा पारिवारिक स्वार्थमा कहिल्यै लगाईनन् । बाल संरक्षणको सञ्चालनमा सबै साधन र स्रोत खर्चिईन् ।

सन् २००९ मा उनले ‘एसिया जनसेवा’ अवार्ड पाईन् । सन् २०१४ मा उनले नोबेल पुरस्कार विजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वर्ल्ड चिल्ड्रेन अनररी अवार्ड’ पाईन् । यी सम्मानहरूले उनको व्यक्तित्व अन्तर्राष्ट्रिय जगतमा सुवासित भयो ।

सन् २०१७ मा बीबीसीले विश्वका सिर्जनशील महिलाहरूको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेटेकाे थियाे।