संसद् सचिवालयले कांग्रेसलाई दियो प्रमुख प्रतिपक्षको मान्यता

होमल्याण्ड खबर

२०७९ माघ ९ गते, सोमबार १८:२२ मा प्रकाशित

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको मान्यता पाएको छ। संघीय संसद् सचिवालयले सोमबार कांग्रेसलाई प्रमुख प्रतिपक्षको मान्यता दिएको हो।

कांग्रेसले विपक्षी दलको सुविधा उपलब्ध गराउन संघीय संसद् सचिवालयमा निवेदन दिएको थियो। कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि प्रतिपक्षको हुने भन्नेबारे प्रश्न उठेको थियो। नेपाल मजदुर किसान पार्टीले पनि प्रमुख विपक्षी दलको मान्यता दिन सचिवालयलाई निवेदन दिएको थियो।

‘प्रस्तुत विषयमा दलको कार्यालयको पत्र संख्या २०७९।०८० चलानी नम्बर ४५ मिति २०७९ पुस २९ को पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू अनुसूची(१ तथा अनुसूची(२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ,’ सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। संसदमा कांग्रेसका ८९ सांसद् छन्।