हामीहरू सुध्रिन तयार भएनौँ, नयाँ दलमा पनि नयाँपन देखिएनः धनराज गुरुङ

होमल्याण्ड खबर

२०७९ माघ २२ गते, आईतवार १४:३५ मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले संसदमा आएका नयाँ दलमा पनि नयाँपन नदेखिएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले नयाँ आएका दलका नेता सांसदरुले पनि पुरानै दलहरुको जस्तो चरित्र देखाएको टिप्पणी गरेका हुन् । उनले पछिल्लो समय नयाँ र आशाको केन्द्र मानिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामोहको चरित्र देखाएकोप्रति लक्षित गर्दै सबै जोगी कानै चिरेका र एउटै ड्याङका मूला भन्ने उखान स्मरण गराएका हुन् ।

जनताले केही नयाँ चाहेको बेला दलका नेताहरू सुध्रिन नसकेको उनको भनाइ थियो । उनले भने ‘हामी पुराना त उस्तै थियौँ, नयाँ आएकाहरु पनि कानै चिरेर आएका रहेछन् । हामी अहिले पनि सुध्रिएका छैनौं, तर संसदमा आएका नयाँ फरक होलान् भनेको त उनीहरु पनि उही ड्याङका मुला रहेछन् ।’

नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागिपरेको भन्दै उनले अझै पनि नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने समेत बताए । आँखैअघि व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको उनको भनाइ थियो ।