फिलिपिन्स पानीजहाज आगलागी: ३१ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७९ चैत्र १६ गते, बिहीबार १७:०९ मा प्रकाशित

दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन् भने सातजना बेपत्ता छन् ।

गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र १९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुसल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् । पानी जहाजमा २५० भन्दा बढी यात्री रहेको बताइएको छ ।

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआंगा सहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो ।

सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुने गरेका छन् ।

सन् १९८७ को डिसेम्बरमा डोना पाज नामको पानीजहाज इन्धन बोकेको अर्को जहाजसँग ठोक्किएर डुब्दा चार हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो । शान्तिकालमा समुद्री भवितव्यमा परेर विश्वमा त्यति धेरै मानिसको एकैपटक ज्यान गएको इतिहास छैन ।