९ मंसिर २०८१, आईतवार
इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ।
अक्टोबर ७ देखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको इसराइलले नेपाल सरकारलाई पत्राचार गरेर जानकारी दिएको हाे। इजरायल सरकारले पत्राचारमार्फत् जोशी हमासको नियन्त्रणमा रहेको जानकारी गराएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले बतायाे।
उनको अवस्थाबारे पत्ता लगाएर सार्वजनिक गरिदिन रेडक्रसको अन्तराष्ट्रिय संस्था आइसीआरसी, इसराइल सरकार र अरू अन्तराष्ट्रिय समुदायलाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
हमासले इसराइलमा आक्रमण गरेको दिनदेखि जोशी बेपत्ता छन्।
गत असोज २० गतदेखि बेपत्ता जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इसराइल पुगेका थिए। उनी सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि तथा विज्ञान संकायमार्फत् त्यहाँ पुगेका हुन्। उनीसँग उक्त विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल गएका थिए।
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले नेपाली विद्यार्थीहरू बसेको बंकरभित्रै पसेर आक्रमण गरेका थिए। हमासकोआक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए।