९ मंसिर २०८१, आईतवार
इजरायली हवाई हमला तीव्र हुँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्र बालबालिकाका लागि चिहान भएको संज्ञा दिएका छन् । उनले समय बित्दै जाँदा मानवीय सहायताका लागि युद्ध विश्राम अत्यन्त जरुरी भइसकेको जिकिर गरेका छन् ।
संयुक्त राष्ट्रसंघको निकायहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गाजा र इजरायलमा नागरिकहरुको ज्यान जानु भयानक भएको उल्लेख गरेको छ । इजरायलको हवाई हमलाले गाजा क्षेत्रमा हमास सशस्त्र समूहको पूर्वाधारलाई निशाना बनाएको र न्यून मानवीय क्षति लक्ष्य भएको सेनाले दाबी गरेको छ ।
गएको चौबीस घण्टामा इजरायली सेनाले हमासको चार सय ५० स्थानलगायत क्षेप्यास्त्र प्रक्षेपण प्रतिरोधी ट्यांकमा हमला गरेको जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा क्षेत्रको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिने बताएका छन् । उनले अमेरिकी टेलिभिजन प्रसारण संस्था एबीसीलाई इजरायलले अनिश्चितकालीन समयका लागि यो जिम्मेवारी लिने बताएका छन् ।
इजरायल-हमास युद्धको ३२ औँ दिनमा प्रवेशसँगै दुवैतर्फ मर्नेको संख्या एघार हजार पाँच सय नाघेको छ ।