९ मंसिर २०८१, आईतवार
एक नेपाली बन्धकलाई हमासले अस्पताल लगेको भिडिओ सार्वजनिक भएकाे छ। इजरायल डिफेन्स फोर्स (आईडिएफ)ले गए राति सामाजिक सञ्जाल एक्स (टविटर)मार्फत भिडियो सार्वजनिक गरेकाे हाे।
आइडिएफले एक्स (ट्वीटर) बाट सार्वजनिक गरेको भिडिओमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ।
भिडिओमा एक जनालाई डोहोर्याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ। आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ।
उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ। द न्युयोर्क टाइम्सले उक्त दृश्य गाजाको अल-सिफा अस्पतालको रहेको पुष्टि गरेको छ।
गत असोज २० (अक्टोबर ७) गते बिहान हमासले गजापट्टी सिमानातर्फको इसराइली भूभागका आकाश र जमिनबाट आक्रमण गरेको थियो।
सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका ४९ जना विद्यार्थी हमासले आक्रमण गरेको क्षेत्रमा कार्यरत थिए। हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।
हमासले त्यसदिन इसराइली र अन्य देशका गरी २४० जनालाई बन्धक बनाएर गजापट्टी लगेका थिए। बन्धक बनाइएकाहरूमा नेपालका विपिन जोशीसमेत रहेको इसराइलले नेपाल सरकारलाई जानकारी दिइसकेको छ। तर जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको नेपाली दूतावासले जनाएकाे छ।