१३ मंसिर २०८१, बिहीबार
वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था ‘कोलम्बो प्रोसेस’को छैठौं बैठक काठमाडौंमा कात्तिक २९ र ३० गते हुने भएको छ । कोलम्बो प्रोसेसमा नेपाल, बंगलादेश, भारत, चीन, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, फिलिपिन्स, अफगानिस्तान, कम्बोडिया र पाकिस्तान सदस्य छन् । नेपालले अहिले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ । नेपाल सन् २०१७ मार्च २९ देखि कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्र बनेको हो ।
बैठकमा रोजगारीका लागि तेस्रो देशमा श्रमिक पठाउँदै आएका १२ राष्ट्रका मन्त्री र उच्च सरकारी अधिकारीको सहभागिता रहने उक्त बैठकको सम्पूर्ण तयारी पूरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कत्तिक ३० गते समापन कार्यक्रमलाई सम्बोधन गर्ने पनि मन्त्रालयले जनाएको छ ।
कात्तिक २९ गते हुने उच्च अधिकारी स्तरीय बैठकको उद्घाटन तथा बैठकको अध्यक्षता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्नेछन् । बैठकमा वैदेशिक रोजगारीका लागि तेस्रो देश जाने एसियाका कामदारको हकहित, सुरक्षा, अधिकार र सुविधाको संरक्षण, तेस्रो देश कामदार आपूर्ति गदै आएका देशहरूले हाल भोगिरहेको समसामयिक विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।
यसैगरी, बैठकले वैदेशिक रोजगारीमा जाने कामदारले रोजगारदाता देशमा भोग्नुपरेका समस्याका विषयमा साझा प्रतिवेदन बनाई आपूर्तिकर्ता मुलुकसँग सहजीकरण र छलफल गर्ने प्रस्तावमा निर्णय गर्ने छ । कोलम्बो प्रोसेसलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)का साथै विकास र सहयोगका लागि स्विस एजेन्सी (एसडिसी) र आबुधाबी डाइलगलेसहयोग गर्दै आएको छ । कोलम्बो प्रोसेसमा धेरैजसो कामदार पठाउने देशहरु छन् भने आबुधाबी डायलग अन्तर्गत कामदार ल्याउने देशहरु र कामदार पठाउने दुवै समुह पर्छन् । आबुधाबी डायलग अन्तर्गत श्रीलङ्का, नेपाल, अफगानिस्तान, पाकिस्तान, बहराइन, साउदी, थाइल्याण्ड, मलेसिया, बंगालादेश, चीन, भारत, इन्डोनेशिया, फिलिपिन्स, भियतनाम, कुवेत, कतार, ओमान र यूएई छन् ।
वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका एसियाका देशहरूले सन् २००३ मा श्रीलंकामा आयोजना भएको श्रम आप्रवासन मन्त्रालयस्तरीय परामर्श कार्यक्रमको परिणामस्वरूप कोलम्बो प्रोसेस स्थापना गरिएको थियो ।