९ मंसिर २०८१, आईतवार
बीबीसी । क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा रुसले हमला गरेर तीनवटा युक्रेनी नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीच तनाव निकै चर्किएको छ ।
दुईवटा गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लियो। केही युक्रेनी जहाज चालक दलका सदस्य घाइते भएका छन् । दुवै देशले एक अर्कालाई दोष लगाएका छन् ।
पछिल्लो संकट तब उत्पन्न भयो जब रुसले युक्रेनी पानीजहाजहरूलाई आफ्नो जलक्षेत्रमा अवैध तरिकाले पसेको आरोप लगायो ।
रुसले कर्च स्ट्रेट भनिने ब्ल्याक सी (कृष्ण सागर) लाई सी अफ अजोभ (अजोभ सागर) सँग जोड्ने साँघुरो जलमार्गमा रहेको पुलमुनि ट्याङ्कर राखिदियो ।
सी अफ अजोभ दुवै देशको साझा हो। ब्ल्याक सीबाट त्यहाँ आउनजान कर्च स्ट्रेटको मार्ग प्रयोग गर्नुपर्छ। पुलमुनि राखिएको ट्याङ्करले सी अफ अजोभतर्फको आवागमन रोकिरहेको छ ।
युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले उक्त घटनालाई रुसको उद्दण्ड कार्य भनेका छन्। उनले संसदलाई सैनिक कानुन लगाउन आग्रह गर्ने बताएका छन् ।
रुसले चाहिँ युक्रेनी जहाजले उसको जलक्षेत्रमा अतिक्रमण गरेर कियभले आफूलाई उक्साएको आरोप लगाएको छ। युरोपेली युनियनले रुसलाई कर्च स्ट्रेटमा आवागमनको स्वतन्त्रतालाई कायम राख्न आह्वान गरेको छ । इयुले सबै पक्षलाई तत्काल तनाव मत्थर पार्न पनि भनेको छ ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोले पनि संयम रहन अपिल गर्दै सी अफ अजोभमा रहेका युक्रेनी बन्दरगाहरूमा निर्वाध आवागमनमा पहुँच निश्चित गर्न रुसलाई आग्रह गरेको छ ।
युक्रेनले मस्कोविरुद्ध अन्तर्रा्ष्ट्रिय कारबाहीको माग गर्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक डाक्न भनेको छ । मस्कोस्थित बीबीसी सम्वाददाता स्टिभ रोजेन्बर्ग भन्छन् रुस र युक्रेनबीचको तनाव महिनौँयता चर्कँदै गइरहेको थियो ।
सन् २००३ मा भएको मस्को र कियभबीचको सन्धिले कर्च स्ट्रेट तथा सी अफ अजोभलाई साझा सागरको रूपमा परिभाषित गरेको छ । तर पछिल्ला समयमा रुसले युक्रेनबाट आएका वा युक्रेन जान लागेका जहाजहरूमा खानतलासी गर्न थाल्यो । बल प्रयोग गरेर जहाज कब्जामा लिनाले तनाव निकै बढेको छ ।