८ मंसिर २०८१, शनिबार
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो । मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भने, ‘पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’
उनले भने, ‘पञ्जाबबाट आउने र जाने सवारीसाधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो ।’ काकरका अनुसार १९ जना पञ्जाबी र तीनजना बलोच सर्वसाधारण मारिएका छन् । जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गरेका छन् ।
‘यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी ९बीएलए० का लडाकू जिम्मेवार रहेको देखिन्छ,’ उनले भने । बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकू पृथकतावादी समूह हो । एजेन्सी