बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन

होमल्याण्ड खबर

२०८१ माघ २४ गते, बिहीबार १३:२८ मा प्रकाशित

बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन चर्किएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाका विपक्षीहरूले गए राति उनका पिता शेख मुजिबुर रहमानको ढाकामा रहेको घरमा आगो लगाएर ध्वस्त पारेका छन् । उनीहरुले हिजै बेलुकादेखि देशभरि शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका बीबीसीले जनाएको छ ।

उनीहरुले शेख मुजिबुर रहमानको भित्ते चित्रहरू बिगारेका थिए । भारतमा रहेकी शेख हसिनाको अनलाइन कार्यक्रम अघि हिंसा शुरू भएको थियो । शेख हसिनाको बङ्गलादेश विरोधी गतिविधिका कारण प्रदर्शन भएको बङ्गलादेशका सञ्चार माध्यमले बताएका छन् । शेख हसिनाका विपक्षीहरूले उनी भारतमा बसेर बङ्गलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै आएका छन् । गएको वर्ष बङ्गलादेशमा आरक्षणविरुद्ध विद्यार्थीको हिंसात्मक प्रदर्शनपछि शेख हसिनालाई देश छाडेर भारत जानुपरेको थियो । हसिना नेतृत्वको आवामी लिग पार्टीले ६ फेब्रुअरीबाट आफ्ना कार्यकर्तालाई सडकमा उत्रन अपिल गरेको थियो ।

बुधबार शेख हसिनाले बंगलादेश छोडेको ६ महिना पूरा भएको छ । ६ फेब्रुअरी राति ९ बजे हसिनाले आफ्ना समर्थकलाई अनलाइनबाट सम्बोधन गर्ने कार्यक्रम थियो । ‘जुलाई क्रान्ति’ को नेतृत्व गरेका विद्यार्थी संगठनले यसको विरोधमा राति ९ बजे बुलडोजर मार्च निकाल्ने घोषणा गरेको थियो । यसको प्रचार सामाजिक सञ्जालबाटै गरियो । जहाँ शेख हसिनाको पिताको घर भत्काउने योजना सार्वजनिक गरिएको थियो । तर प्रदर्शनकारी ८ बजे नै त्यहाँ पुगे र तोडफोड सुरु गरे । उनीहरू त्यहाँ पुग्दा ‘शेख हसिनालाई फासी दे’ को नारा लगाइरहेका थिए । उनीहरूले आवामी लिग पार्टीका नेताहरूलाई बंगलादेशमा बस्न नदिने उद्घोष समेत गरेका थिए ।

तोडफोड गरिएको त्यही घर हो जहाँ १५ अगस्ट १९७५ मा शेख मुजीब, उनकी पत्नी, छोरा, बुहारी र अरु कैयौ नातेदारको हत्या गरिएको थियो । उक्त हत्याकाण्डपछि त्यो घरलाई संग्रहालयमा रुपान्तरण गरिएको थियो । ५ अगस्ट २०२४ शेख हसिनाले देश छाड्नुअघि पनि यो घरमा आक्रमण गरिएको थियो । बङ्गलादेश सरकारले जुलाईमा भएका हत्या घटनाहरूलाई कारण देखाउँदै हसीनाको पासपोर्ट रद्द गरिसकेको छ। साथै, बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उनको गिरफ्तारी वारन्ट जारी गरेको छ। हसिनालाई १२ फेब्रुअरीभित्र उपस्थित हुन आदेश दिइएको छ।

बङ्गलादेश सरकारले भारतलाई हसीनालाई डिपोर्ट गर्न अनुरोध गरिसकेको छ । तर, भारत सरकारले उनको भिसावधि बढाइसकेको छ, जसले उनी बङ्गलादेश डिपोर्ट नहुने संकेत गरेको छ । बङ्गलादेशको प्रमुख अखबार ‘द डेली स्टार’का अनुसार सोशल मिडियामा भाइरल पोस्टका आधारमा यो प्रदर्शन शेख हसिनाको ‘बङ्गलादेशविरोधी गतिविधि’ का कारण गरिएको बताइएको छ । विरोधीहरूले शेख हसिनाले भारतबाट बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउने गरेका छन् ।