ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार

होमल्याण्ड खबर

२०८१ फाल्गुन २२ गते, बिहीबार १०:५७ मा प्रकाशित

एजेन्सी । युएसएआईडी लगायतको कैयन बिलियन डलरको फन्ड फ्रिज गर्ने ट्रम्प प्रशासनको अनुरोध अमेरिकाको सर्वोच्च अदालतले बुधबार अस्वीकार गरेको छ ।

ह्वाइट हाउसलाई तल्लो अदालतमा मुद्दा जारी राख्न अनुमति दिँदै अदालतले रकम कहिले जारी गर्नुपर्छ भन्नेबारे भने केही बताएको छैन ।

सर्वोच्चका ४ न्यायाधीश ट्रम्प प्रशासनको अनुरोधको पक्षमा देखिए पछि ५ जना न्यायाधीशले उक्त अनुरोध अस्वीकार गरेका हुन् । ६ जना रुढिवादी र ३ जना लिबरल न्यायाधीशहरु रहेको सर्वोच्चको यो निर्णयले ट्रम्प प्रशासनलाई धक्का पुगेको छ ।

सर्वोच्च अदालतको अमेरिकी एजेन्सी युएसएआईडीलाई तिर्ने २ बिलियन डलरबारे सङ्घीय न्यायाधीशको शक्तिलाई समर्थन गरेको छ ।

अमेरिकी डिस्ट्रिक्ट कोर्टका न्यायाधीश अमिर अलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट रोकिएको रकम प्रदान गर्न आदेशहरूको शृङ्खला जारी गरेपछि ट्रम्प प्रशासनले दायर गरेको आपत्कालीन आवेदन सर्वोच्चले अस्वीकार गरेको हो ।

अदालतले मुद्दाको सुनुवाइ एक साता ढिलो गरेको हो । यसबिचमा ठेकेदारले भुक्तानी भने पाएका छैनन् । हस्ताक्षर नगरी जारी गरिएको आदेशमा अदालतले न्यायाधीश अलीले तत्काल भुक्तानीको लागि दिएको म्याद सकिएको र मुद्दा जिल्ला अदालतमा चलिरहेकाले थप निर्णय आउन बाँकी रहेको बताएको छ। मुद्दाबारे बिहीबार सुनुवाइ हुने भएको छ ।