१६ जेष्ठ २०८२, बिहीबार
संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतवार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् ।
उनीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ वर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगाएतका माग राखेका छन् ।
त्यस्तै स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालले बताए ।
विधेयकमा भएको अहिलेको व्यवस्थाले कर्मचारीको मनोबल घटाउने भन्दै उनले आफूहरुको माग सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।