‘राहत नपुगेको भए विवरण पठाउनुहोस्’ भन्दै मन्त्री पुनले सार्वजनिक गरे फोन नम्बर

होमल्याण्ड खबर

२०८३ भाद्र २६ गते, शुक्रबार १३:४१ मा प्रकाशित

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाका केही दुर्गम बस्तीमा अझै राहत सामग्री पुग्न नसकेको जानकारी आएको भन्दै स्थानीय समाजसेवी तथा जनप्रतिनिधिसँग आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत अपिल गर्दै मन्त्री पुनले राहत नपुगेका स्थानका स्थानीयलाई आफूले दिएको ९८४१५९२३६१ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन्।

उनले स्थानीय समाजसेवी तथा जनप्रतिनिधिलाई आधिकारिक पत्रमार्फत गाउँको नाम, प्रभावितको संख्या र आवश्यक राहत सामग्रीको विवरण आफ्नो ह्वाट्सएपमा पठाउन अनुरोध गरेका छन्।

मन्त्री पुनका अनुसार राहतका लागि आवश्यक विवरणमा खानेकुरा, भाँडाकुँडा, ओढ्ने–ओछ्याउने सामग्री, टेन्ट, त्रिपाल, औषधिलगायत आवश्यक सामग्रीको सूची समावेश गर्नुपर्नेछ।

प्राप्त विवरणका आधारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग समन्वय गरी राहत सामग्री सम्बन्धित स्थानसम्म पुर्‍याउने प्रयास गरिने उनले बताएका छन्।

मन्त्री पुनले राहतको आवश्यकता रहेका दुर्गम बस्तीको यथार्थ विवरण उपलब्ध गराएर प्रभावित नागरिकसम्म आवश्यक सामग्री पुर्‍याउन सहयोग गर्न स्थानीय समाजसेवी तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन्।