२४ भाद्र २०८३, बुधबार
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारदेखि अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा सुरु भएको छ । ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारासहित महासभा आगामी २९ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ ।
महासभाको उद्घाटन सत्रमा अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै विश्वशान्ति, सुरक्षा, जलवायु परिवर्तन, दिगो विकास र मानवीय संकट समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।


अध्यक्ष रहमानले विश्वव्यापी चुनौती समाधानका लागि महासभा प्रभावकारी संवादको मञ्च बन्ने विश्वास व्यक्त गर्नुभयो। दिगो विकास, मानवअधिकार, डिजिटल प्रविधिको उपयोग र राष्ट्रसङ्घको सुधारलगायत विषयमा समेत गहन छलफल हुने उहाँले बताउनुभयो ।
महासचिव गुटेरेसले द्वन्द्व, गरिबी, जलवायु परिवर्तन, विभाजन तथा आणविक जोखिमले विश्वलाई प्रभावित बनाइरहेको भन्दै संवाद, सहकार्य र आपसी सहयोगबाट चुनौती समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, नेपालले महासभामार्फत विश्वशान्ति, विकास, मानवीय सहायता र जलवायु न्यायका क्षेत्रमा सामूहिक प्रयास अघि बढाउन प्रतिबद्धता जनाएको छ ।
राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित मुलुकको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता र प्रभावकारी सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले उत्पादन क्षमता वृद्धि, प्रविधिको विस्तार, जलवायु अनुकूलन, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा तथा दिगो विकासका लागि पर्याप्त वित्तीय स्रोत जुटाउन आह्वान गर्नुभयो ।