भाटभटेनी लुटपाट गर्ने ११ जनाविरुद्ध मुद्दा : पौने ७८ लाखको क्षतिपूर्ति माग, काे-काे छन् प्रतिवादी ?

होमल्याण्ड खबर

२०८२ जेष्ठ १३ गते, सोमबार १५:२० मा प्रकाशित

सरकारले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको आक्रमण तथा चोरीमा संलग्न ११ जनालाई आपराधिक उपद्रवको मुद्दा चलाएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ को व्यवस्थाअनुसार उक्त कार्यमा संलग्न ११ जनालाई आपराधिक उपद्रवको मुद्दा चलाएको हो ।

भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालिको तर्फबाट प्रवन्ध निर्देशक मीनबहादुर गुरुङसमेतको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिीको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो । उनीहरुलाई आपराधिक उपद्रव गरेर हानि-नोक्सानी पुर्‍याएको अभियोगमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना माग दाबी गरिएको छ ।

उक्त कार्यमा संलग्न ४ बालकलाई प्रतिवादी बनाएर भक्तपुर बाल अदालतसमक्ष छुट्टै आरोपपत्र पेश भएको छ । बालकमा परिवर्तित नाम २६ परिसर ४४, २६ परिसर ४४ (ग), २६ परिसर ४५ र २६ परिसर ४४ (च) रहेका छन् ।

उनीहरुले तोडफोड, आगजनी तथा लुटपाट गर्दा ८० लाख ३३ हजार १९२ रुपैयाँ ५२ पैसा बराबरको धनजनको क्षति भएको भाटभटेनी सुपरमार्केटका सञ्चालकले माग दाबी गरेका छन् । जसमा प्रतिवादी बनाइएका व्यक्तिबाट बरामद भएर आएका लिपिस्टकलगायतका धनमाल गत चैत १५ कै बजार मूल्य २ लाख ४३ हजार ८७४ रुपैयाँ रहेकाले उक्त रकम घटाएर ७७ लाख ८९ हजार ३१८ रुपैयाँ ५२ पैसा प्रतिवादीबाट भराइपाउँ भन्दै माग दाबी गरिएको छ ।

को को छन् प्रतिवादी ?

१)श्रवणकुमार लामा, दक्षिणकाली– ८ छैमले, काठमाडौं
२) समीर मगर, उर्लाबारी– २ मोरङ हाल काठमाडौं– ३२ कोटेश्वर
३) रविरञ्जनकुमार सिंह हुसेना खुर्द, बैशाली जिल्ला बिहार राज्य भारत
४) लक्ष्मी राई, इटहरी– २ सुनसरी
५) आशिककुमार महतो, मिथिला– ५ धनुषा
६) गोविन्दा राय, रामनगर– २ सर्लाही
७) सुशीला कुमाल, विदुर– ६ नुवाकोट
८) निर्मला कार्की, चौतारा साँगाचोकगढी– ८ सिन्धुपाल्चोक
९) प्रेमकुमार महतो, बरहथवा– १६ सर्लाही
१०) राधेश्याम यादव, नवराजपुर– ४ सिराहा
११) दिनेश महत्तो, लहान– ८ सिरहा हाल काठमाडौं– ३२ कोटेश्वर