२२ फाल्गुन २०८२, शुक्रबार
ईरानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्सँग आपतकालीन बैठक बोलाउन र अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग गरेको छ।
ईरानी इस्लामी गणतन्त्रको परराष्ट्र मन्त्रालयले अमेरिकाले ईरानका तीनवटा शान्तिपूर्ण आणविक पूर्वाधारमाथि गरेको हवाई आक्रमणलाई संयुक्त राष्ट्रसंघको सन्धि र अन्तर्राष्ट्रिय कानुनको अत्यन्तै गम्भीर उल्लङ्घन भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ईरानले आफ्ना सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्न सम्पूर्ण अधिकार सुरक्षित राखेको स्पष्ट पारेको छ।


अमेरिकाले आइतबार बिहानै तेहरानको आणविक प्रतिष्ठानमाथि हवाई हमला गर्दा इजरायली आक्रमणको दशौँ दिन चलिरहेको थियो। ईरानी परराष्ट्र मन्त्रालयको भनाइमा, यस कदमले अमेरिका र ‘जातीय सफाया गर्ने’ इजरायली शासनबीचको आपराधिक सहकार्यलाई उदाङ्गो बनाएको छ।
ईरानी परराष्ट्र मन्त्रालयको वक्तव्य अनुसार, ‘‘संयुक्त राष्ट्रसंघ सन्धिको मूल मर्मको उल्लङ्घन, अमेरिकी आक्रमणले राष्ट्रसंघको सन्धिमा उल्लिखित सबभन्दा आधारभूत सिद्धान्तहरू—शक्ति प्रयोगमा निषेध र राष्ट्रहरूको सार्वभौमिकताको सम्मानको अपमान गरेको मन्त्रालयको ठहर छ।’’
ईरानका सबै आणविक कार्यक्रमहरू अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको निगरानीमा छन्। यस्तो अवस्थामा अमेरिकी हमला गम्भीर प्रकृतिको अपराध भएको मन्त्रालयको दाबी छ।
मन्त्रालयले राष्ट्रसंघ, सुरक्षा परिषद्, महासचिवलाई यस्ता आक्रामकता विरुद्ध तुरुन्त कदम चाल्न आग्रह गरेको छ। यसप्रति मौनता राख्नुले विश्वलाई थप जोखिमपूर्ण बनाउने चेतावनी दिइएको छ।
वक्तव्यमा उल्लेख छ, “शान्ति चाहने र स्वतन्त्रता खोज्ने ईरानी जनताको विरुद्ध अमेरिकाले देखाएको गहिरो द्वेष र अमानविक सोच उसकै विदेश नीतिमा विद्यमान भ्रष्टाचारको संकेत हो।”
ईरानले अमेरिकाको यो कार्यलाई ‘एक आपराधिक, गैरकानुनी र अत्यन्तै खतरनाक युद्ध घोषणा’ भनी परिभाषित गर्दै विश्व समुदायलाई समयमै हस्तक्षेप गर्न आह्वान गरेको छ।
परराष्ट्र मन्त्रालयले अन्त्यमा भनेको छ, “आजको दिनमा अमेरिकाले कूटनीतिलाई धोका दिएको छ, इजरायली अपराधलाई प्रोत्साहन दिएको छ र विश्वको सुरक्षामा गम्भीर संकट निम्त्याएको छ।” (तास्नीम समाचार एजेन्सी)