१८ श्रावण २०८३, सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भोलिदेखि वार्ता सुरू हुने घोषणा गरेका छन्।
न्युजर्सीस्थित आफ्नो गल्फ क्लबबाट वासिङ्टन फर्कने क्रममा एयरफोर्स वानमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले सोमबारदेखि नै इरानसँग वार्ता हुने बताएका हुन्।


‘उनीहरूले हाम्रो आक्रमण गर्ने तयारी देखिरहेका थिए। त्यसैले त्यसको स्तरबारे उनीहरूलाई थाहा थियो। अब हामी वार्तामार्फत उनीहरूसँग कुरा गर्दैछौं। वार्ता भोलि अपराह्नबाट सुरु हुन्छ, त्यसपछि के हुन्छ हेर्नेछौं,’ ट्रम्पले पत्रकारहरूसँग भने।
त्यसकारण अमेरिकाले गर्न लागेको भीषण हमला अन्तिम चरणमा स्थगित गरिएको पनि ट्रम्पले बताएका छन्।
उनले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार तथा इरानकै आग्रहपछि आफूले योजनाबद्ध सैन्य आक्रमण स्थगित गरिएको दाबी गरेका छन्।
‘हामी आक्रमणका लागि पूर्ण रूपमा तयार थियौं। तर सहयोगी राष्ट्रहरूले रोक्न आग्रह गरेपछि पर्ख र हेर को निष्कर्षमा पुग्यौं। सम्झौता सम्भव छ भन्नेमा उनीहरू पनि विश्वस्त छन्,’ उनले भने।
ट्रम्पले पहिलो चरणमा हर्मुज जलमार्गसँग सम्बन्धित विषयमा र त्यसपछि इरानको आणविक कार्यक्रमबारे वार्ता र सम्झौता हुन सक्ने विश्वास उनले व्यक्त गरे।
‘पहिले हर्मुजसँग सम्बन्धित सम्झौता हुन्छ,’ उनले भने, ‘त्यसपछि मैले सधैँ भन्दै आएको इरानले आणविक कार्यक्रम सदाका लागि बन्द गर्ने सम्बन्धमा सम्झौता हुन्छ,’ उनले भने।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आइतबार साउदीका राजकुमार मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गरेका थिए। उनले इरानमाथि हमला गर्ने तयारी तत्कालका रूपमा स्थगित गर्न अनुरोध गरेका थिए।
राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रमणबारे गम्भीर भएको भन्ने समाचार पनि सार्वजनिक भएको थियो। तर इरानले भने अमेरिकाले हमला गरे मध्यपूर्वमा रहेका उसका सैन्य अड्डा, ऊर्जा संरचना र इसराइलका ऊर्जा संरचनामा प्रहार गर्ने चेतावनी दिएको थियो।
ट्रम्पले इरानकै आग्रहमा आक्रमण रोकेको भने पनि तेहरानले भने त्यसमा अस्वीकार गरेको छ। इरानको अर्धसरकारकी समाचार एजेन्सी फार्सले आफ्नो शक्ति क्षयीकरण हुँदै गएकाले यस्तो दाबी गरेको बताएको छ।
स्ट्रेट अफ हर्मुजमा इरानले जहाजहरूबाट पैसा उठाउने अडान लिएको छ। त्यसका लागि उसले ओमानसँग सहकार्य गर्ने भने पनि ओमानले त्यो प्रस्ताव अस्वीकार गरिदिएको थियो।
अमेरिका हर्मुजमा जहाजहरूको खुला आवागमन सुनिश्चित हुनुपर्ने पक्षमा छ।
अर्कोतर्फ इरानको आणविक कार्यक्रमबारे पनि सुरूवातदेखि नै मतभेद छ। इरानसँग भएको उच्च प्रशोधित युरेनियमबारे पनि सहमति जुट्न सकेको छैन।
अमेरिका इरानले आणविक कार्यक्रम बन्द गर्नुपर्ने पक्षमा छ भने इरान त्यसमा सहमत छैन। त्यस्तै उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्नुपर्ने अमेरिकाको शर्त छ भने इरान कुनै हालतमा उच्च प्रशोधित युरेनियम अमेरिकालाई हस्तान्तरण नगर्ने पक्षमा छ।