९ मंसिर २०८१, आईतवार
एएफपीः सामसुङ इलेक्ट्रोनिक्सको अन्तिम चौमासिकमा नाफा २९ प्रतिशतले घटेको छ ।
विगत दुई वर्षयता कम्पनीको यो सबैभन्दा उच्च गिरावट हो ।
चिनीया स्मार्टफोन निर्माताहरुबाट सिर्जित बढ्दो प्रतिस्पर्धा र स्मार्टफोनको मूल्यमा भारी गिरावट आएका कारण सामसुङको नाफा घटेको बताइएको छ।
गत अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा कम्पनीको सञ्चालन खर्च करिब ९ अर्ब ८० करोड अमेरिकी डलर हुने अपेक्षा गरिएको थियो । गत साता पनि आइफोन समेतका विद्युतीय उपकरण निर्माता एप्पल कम्पनीको बिक्री घटेको रिपोर्ट सार्वजनिक भएको थियो । अमेरिका–चीनबीचको व्यापार युद्धसँगै एप्पलले चीनमा आफ्ना उत्पादनको बिक्रीको प्रक्षेपण घटाएको थियो ।
विश्वमै सबैभन्दा बढी स्मार्टफोन र मेमोरी चिप्सको उत्पादन गर्ने सामसुङले हालैका वर्षमा उच्च नाफा आर्जन गरिरहेको थियो ।कम्पनीका केही उत्पादनमा समस्या देखिए पनि सामसुङको बजारमा कुनै असर परेको थिएन ।
सामसुङका अनुसार यस अवधिमा बिक्रीमा १० प्रतिशतले कमी आएको छ । कम्पनीले खासगरी मेमोरी चिप्सको बिक्रीमा आएको कमीले नाफा कम भएको जनाएको छ ।