एसीसी पुरुष प्रिमियर कपमा नेपालको विजयी सुरुवात

होमल्याण्ड खबर

२०८३ भाद्र १५ गते, सोमबार १२:११ मा प्रकाशित

 एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुवात गरेको छ ।

बाङ्गीस्थित वाईएसडी यूकेएम ओभलमा सोमबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो । ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो।

सन्दीप लामिछाने कप्तानमा फर्किएपछि यो उनको राष्ट्रिय टिमसँग पहिलो जित हो । नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन बनाए । रोहित कुमार पौडेल १९ रनमा नटआउट रहे । आसिफले १८ र देव खनालले १० रन बनाए । इशान पान्डे १ रनमा आउट भए ।

बहराइनका लागि इमरान जावेद अनवरले २ विकेट लिए ।

जारी खेलमा पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो । बहराइनका लागि फियाज अहमदले १५ र मुहम्मद वसिमले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । उनले १० ओभरमा १४ रन खर्चेर फाइभ विकेट हल पूरा गरे । ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए । टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको थियो ।

नेपालले दोस्रो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।