१५ भाद्र २०८३, सोमबार
भारतका रक्षामन्त्री राजनाथ सिंहले गत बुधबार नेपालमा आएकाे विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर समवेदना प्रकट गरेका छन्।
उनले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन्। सिंहले साेमबार सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।


उनले आकस्मिक बाढीका कारण भएको ठूलो जनधनको क्षतिले नेपालसँगै भारतीय नागरिकलगायत विभिन्न देशका नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्। मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले नेपाललाई खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका प्रयासमा निरन्तर सहयोग गर्ने भारतको प्रतिबद्धता समेत दोहोर्याएका छन्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालका रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठुलो क्षति भएको छ।
नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।