चीनले पठायो बेली ब्रिज र शव व्यवस्थापनका लागि मोर्चरी फ्रिजर

होमल्याण्ड खबर

२०८३ भाद्र १८ गते, बिहीबार १५:४३ मा प्रकाशित

रसुवा बाढी प्रभावित क्षेत्रका लागि चीनले राहत सामग्री पठाएको छ। चिनियाँ एयरफोर्सको कार्गो जहाज बिहीबार उद्धार तथा राहत सामग्री लिएर काठमाडौं आइपुगेको हो।

चिनियाँ जनमुक्ति सेनाको एयरफोर्सको वाई–२०ए ठूलो क्षमताको कार्गो विमानमार्फत राहत सामग्री काठमाडौं ल्याइएको हो। उक्त विमानमा नेपालका लागि चौथो खेपका रूपमा १० जना चिनियाँ फरेन्सिक विज्ञसमेत आएका छन्।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए। उनीहरूले राहत सामग्री ग्रहण गर्नुका साथै चिनियाँ विज्ञ टोलीलाई स्वागत गरेका थिए।

चीनले पठाएको राहत सामग्रीमा शव राख्न प्रयोग हुने मोर्चरी फ्रिजर, महामारी रोकथामका सामग्री तथा दैनिक उपभोग्य वस्तुहरू छन्। फरेन्सिक विज्ञहरूले नेपालमा बाढी तथा विपद्का कारण मृत्यु भएकाहरूको पहिचान प्रक्रियामा सहयोग गर्न तत्काल काम सुरु गर्ने जनाइएको छ।

तेस्रो खेपको राहत सामग्रीमा विपद् उद्धारका लागि नेपालले अत्यावश्यक ठानेका बेली ब्रिजसमेत छन्। पहिलो चरणमा पठाइएका बेली ब्रिज जडान गर्न आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी-नेचुङ सीमा नाकामा पुगिसकेको जनाइएको छ।

चीनले यसअघि पनि रसुवा बाढी प्रभावितका लागि राहत सामग्री तथा विशेषज्ञ टोली नेपाल पठाएको थियो। यसअघि १४ भदौमा चीनको दुई वटा जहाज आएका थिए भने अर्को खेप भदौ १६ मा राहत सामग्री लिएर आएको थियो। आज चौथो जहाज नेपाल आएको हो।