२२ भाद्र २०८३, सोमबार
परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिसाम एडमबीच सोमबार टेलिफोन वार्ता भएको छ ।
वार्तामा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोसी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र जनताको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएकी थिइन् ।


उनले विपद्को यस दुःखद् घडीमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गरेकी थिइन् । सो अवसरमा परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेकोमा माल्दिभ्स सरकार तथा जनताप्रति आभार व्यक्त गरेका थिए ।
टेलिफोन वार्ताका क्रममा दुवै विदेशमन्त्रीले जलवायु जोखिममा रहेका मुलुकहरूले सामना गरिरहेका साझा चुनौतीबारे छलफल गरेका थिए ।
उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्यायको प्रवर्द्धन तथा थप प्रभावकारी जलवायु कार्यका लागि सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।