प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा

होमल्याण्ड खबर

२०८३ भाद्र २६ गते, शुक्रबार १५:३७ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री वालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले प्रधानमन्त्री शाहका पछिल्लो अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गरे ।

प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा त्यसतर्फ ध्यान जान नसकेको थापाको भनाइ छ । उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताए ।

सरकार आफैँले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा थापाले जोड दिए । २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने थापाको भनाइ छ ।

तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने सभापति थापाको दाबी थियो । उनले सरकारले निजी क्षेत्रको लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

यस्तो छ थापाको भनाइ :

प्राइममिनिस्टरले कतातिर जाने भन्ने निर्णय गर्ने हो ।  कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो । जो अहिले प्राइममिनिस्टर हुनुहुन्छ । अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । अहिलेको प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा हैन, हि हेट्स प्राइभेट सेक्टर । यो मैले अनुमानको आधारमा भनेको होइन । अहिले उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्तिहरू र निर्णयहरू त्यस्तै छन् । मैले अस्ति पार्टीको सेन्ट्रल कमिटीको बैठकमा लामो समय लिएर भनेको पनि छु । हेर्दा सामान्य कुरा लाग्छ । तर, दुग्ध विकास संस्थानको हेटौँडा कारखानाको, नेपाल औषधि लिमिटेडको बारेमा, ती कारखानाहरू चलून्, मुनाफा कमाऊन् मेरो शुभेच्छा छ । त्यसका बारेको टिप्पणी होइन । तर, स्टेट चलाउने मान्छेले यो स्टेटको इकोनोमी आजको दिनमा यो कस्तो छ ? – न्युज एजेन्सी नेपाल