बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार भदौ ३१ गते बिहान ६ बजेसम्म बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध छन्।
रसुवाका मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पसाङ ल्हामु सडकखण्डको सिमटारमा बाटो पूर्ण रूपमा अवरुद्ध छ।


धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्ण भिरमा पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प छ। ज्वाङखोला र शीतलबजारमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मर्मतका कारण सवारी चाप हेरेर एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
कर्णाली करिडोरअन्तर्गत हुम्लाको खरीखेतमा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।





