३१ भाद्र २०८३, बुधबार
रसुवाको भोटेकोशी बाढीबाट अभिभावक विहीन भएका बालबालिकालाई कास्कीका बालगृहहरुले आश्रय दिने भएका छन् । रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायत जिल्लामा यसले ठूलो क्षति पुगेको छ । भदौ १० को बाढीले धेरै बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन् । त्यसको तथ्यांक सरकारले सार्वजनिक गरिसकेको छैन ।
कास्कीमा रहेका २५ वटा बालगृहहरुले राज्यले आवश्यक प्रक्रिया पूरा गरेर जिम्मेवारी दिए १ सय ७० बालबालिकाको दीर्घकालीन संरक्षण गर्ने बताएका छन् । बालगृहहरुको सञ्जाल कास्कीका अनुसार बाढी प्रभावित बालबालिकालाई आफ्नो क्षमता र स्रोतले समेट्ने गरी संरक्षण दिन तयार रहेको हो ।


कास्कीका बालगृहमा हाल ४ सय ४० जना बालक र ५ सय ४ जना बालिका गरी ९ सय ४४ जना बालबालिका संरक्षणमा रहेका छन् । यसअघि कास्कीबाट मात्रै १ हजार ३ सय भन्दा बढी बालबालिकालाई परिवार तथा समुदायमा पुनःस्थापित गरिएको प्रादेशिक बाल अधिकार समिति सदस्य विजयकुमार प्रधान बताउँछन् । आवासीय बालगृहमा एक जना बालबालिकाको दीर्घकालीन संरक्षण गर्दा शिक्षा, स्वास्थ्य, आवास, खानपान, लत्ताकपडा र अन्य आवश्यकतासहित कम्तीमा २५ देखि ३० लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने उनको हिसाव छ ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरलगायत जिल्लाका करिब १७ हजार बालबालिका शिक्षाबाट प्रभावित भएको प्रारम्भिक तथ्यांक छ । प्रभावित १५ स्थानीय तहमा १ सय ९७ जना बालबालिका अभिभावकविहीन भएको प्रारम्भिक जानकारीसमेत प्राप्त भएको प्रधानले जानकारी दिए । सञ्जालले प्रभावित क्षेत्रमा रहेका बालबालिकाका लागि करिब ६ लाख रुपैयाँ बराबरका आवश्यक राहत सामग्री उपलब्ध गराएको छ ।