९ आश्विन २०८३, शुक्रबार
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बाढीपछिको पुनर्निर्माणमा आफ्नो देश नेपाली जनताको साथमा उभिने प्रतिबद्धता जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाको ‘साइडलाइन’मा अमेरिकाको न्युयोर्कमा स्थानीय समयानुसार बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।


“विनाशकारी बाढी र त्यसबाट भएको क्षतिबाट नेपाल तंग्रिँदै गर्दा पुनर्निर्माण र शोकको यस घडीमा अस्ट्रेलिया त्यहाँका जनताको साथमा उभिएको छ,” भेटवार्तापछि उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
प्रधानमन्त्री बालेनसँगको भेटमा आफूले बाढी प्रभावितप्रति अस्ट्रेलियाको गहिरो समवेदना व्यक्त गरेको उनले बताएका छन् । हालसम्म अस्ट्रेलियाले उपलब्ध गराएको सहयोगबारे पनि जानकारी गराएको उनले जनाएका छन् ।
नेपालको बाढीमा बेपत्ता भइरहेका अस्ट्रेलियाका नागरिकका सम्बन्धमा पनि जानकारी लिएको उनले उल्लेख गरेका छन् ।
“सबैभन्दा बढी आवश्यकता भएको ठाउँमा सहयोग पुर्याउन हामी नेपालसँग मिलेर काम गरिरहनेछौँ,” अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले भनेका छन् ।