यी पाइलट, जसले ककपिटभित्रै चक्कु आक्रमणका बाबजुद १८० यात्रु बचाए

होमल्याण्ड खबर

२०८३ आश्विन १५ गते, बिहीबार ११:०९ मा प्रकाशित

बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा को-पाइलटले चक्कु हानेका पाइलट भारतीय मूलको भएको खुलेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको नाम स्मित मछार हो। जसले रगतपच्छे भएर पनि विमानलाई दुर्घटना हुनबाट जोगाए र १८० यात्रुको ज्यान बचाए।

इजरायली अधिकारीहरूका अनुसार पाइलट स्मितलाई चक्कुले आक्रमण गर्ने को-पाइलट ओमानी नागरिक हुन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार ‘चक्कुले आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको छ र हाल साउदी अधिकारीहरूले सोधपुछ गरिरहेका छन्।’

इजरायलका एक वरिष्ठ अधिकारीले पाइलटको साहसले ठुलो दुर्घटना हुनबाट जोगिएको बताए। अन्यथा सन् २००१ मा संयुक्त राज्य अमेरिकामा भएको ९/११ को आक्रमणजस्तै हुन सक्थ्यो।

भारतीय सञ्चारमाध्यमका अनुसार फ्लाई दुबईमा सामेल हुनुभन्दा पहिले स्मितले स्पाइसजेटमा ११ वर्षभन्दा बढी समय काम गरेका थिए। जहाँ उनले ९ हजार ५०० घण्टाभन्दा बढी उडान गरे। यसमा उनले ६ हजार ४०० घण्टाभन्दा बढी समय मुख्य पाइलटका रूपमा काम गरे।