१६ आश्विन २०८३, शुक्रबार
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका शृङ्खलाबद्ध घटनाहरूमा राज्य र समाजको क्षणिक चासोप्रति प्रश्न उठाएकी छिन् ।
‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ । तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ । हामीलाई एक प्रकारले दुःखको लत लागेको छ,’ धितालले भनिन्, ‘जेनजी आन्दोलन, मधेशको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछिको हत्या र रसुवाको बाढीजस्ता घटनाको भीडमा सुकुमवासीका पीडा र बाढीमा बेपत्ता भएका बालबालिकाको खोजी गर्ने कार्य ओझेलमा परेका छन् ।’


सांसद धितालले पछिल्लो समयका विभिन्न घटनाक्रमहरूको स्मरण गराउँदै सरकारको ध्यानाकर्षण गराइन् ।
‘बजारमा आउने नयाँ ‘ट्रेन्ड’सँगै न्यायका विषय पनि प्रतिस्थापित हुने गरेको उल्लेख गर्दै उनले नागरिकका पीडामा राज्यले विभेद गर्न नहुने जिकिर गरिन् । राज्य अरूको दुःखमा केवल टेको लगाउने होइन,’ उनले भनिन्, ‘आफैँ पीडितको टेको बन्नुपर्छ। केही दिनको सहानुभूतिमा मात्र सीमित नभई, पीडितको जीवन सामान्य नहुन्ज्यालसम्म राज्य परिणाममुखी ढङ्गले उनीहरूको साथमा उभिनुपर्छ ।’
उनले राज्यको उपस्थिति केवल औपचारिक हुनु नहुने भन्दै पीडितको जीवनमा वास्तविक परिवर्तन ल्याउने गरी कार्यसम्पादन गर्न सरकारसँग माग गरिन् ।