दिउँसोदेखि वर्षा शुरू हुने, भोलि ठूलो पानी पर्ने सम्भावना

होमल्याण्ड खबर

२०८३ कार्तिक १३ गते, बिहीबार १०:१७ मा प्रकाशित

शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि नेपालमा पनि पर्ने भएको छ । अर्नबको प्रभावले दिउँसोदेखि वर्षा शुरू हुने र भोलि भारी वर्षाको सम्भावना रहने अनुमान छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात अर्नब हाल कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ। बिहानसम्म आकाशमा बादल मात्र देखिए पनि वर्षा शुरू नभएको उनले बताए । हिजोको तुलनामा आजको पूर्वानुमानमा कम जिल्लाहरू जोखिममा देखिएको उनको भनाइ छ ।

‘चक्रवात अर्नब अहिले कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भएको छ। अहिलेसम्मको जानकारीअनुसार नेपालमा बादल आइपुगे पनि वर्षा शुरू भएको छैन,’ उनले भनेका छन्, ‘आज दिउँसोदेखि वर्षा शुरू हुने र भोलि भारी वर्षाको सम्भावना बढी रहने देखिन्छ। विशेषगरी आज रातिदेखि शनिबार बिहानसम्मको अवधिमा सतर्क रहनुपर्ने देखिएको छ। आजको पूर्वानुमानमा हिजोको तुलनामा कम जिल्ला जोखिममा देखिएका छन्। तर यो प्रणालीले ठूलो क्षेत्र ओगटेको छ। माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग यसको अन्तरक्रियाले अझै धेरै ठाउँमा भारी वर्षा गराउन सक्छ।’

चक्रवात अर्नब बुधबार बिहान सवा ८ बजेतिर भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। प्रणालीको प्रभावले आजदेखि शनिबारसम्म देशैभर मौसम प्रतिकूल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।