२० कार्तिक २०८३, बिहीबार
नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका जायज मागहरू तत्काल सम्बोधन गर्न नेपाल सरकारसँग माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवनरक्षाका लागि तुरुन्त वार्ताको वातावरण बनाउन आग्रह गरेको हो ।
“डा. गोविन्द केसी मिति २०८३ कात्तिक १२ गतेदेखि २५औँ आमरण अनशनमा बसिरहनुभएको छ र आन्दोलनको आठ दिन बितिसक्दा समेत सरकारले उहाँका मागहरूप्रति गम्भीरता नदेखाएकोमा संघकाे गम्भीर ध्यानाकर्षण भएको छ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


डा. केसीको स्वास्थ्यमा जटिल समस्याहरू उत्पन्न हुँदै गएकाले उनको जीवनरक्षाको निम्ति सरकारले विलम्ब नगरी वार्तामार्फत समस्याको समाधान खोज्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा संघले शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय प्रदर्शनीमार्गमा छलफल गर्ने जनाएको छ । छलफलमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक, अस्पताल निर्देशक तथा आवासीय चिकित्सकलाई बोलाइएको छ ।