९ मंसिर २०८१, आईतवार
विश्वकपको मुखैमा आइपुग्दा अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमलाई धक्का लागेको छ । टिमका बलिङ कोच डेभिड सेकरले अचानक राजीनामा दिएका छन् । वडे विश्वकपसँगै एशेज सिरिजसमेत नजिकै आइपुगेको बेला अचानक सेकरको राजीनामा आएको हो । सेकरले भने टिमको भलाइको लागि आफूले राजीनामा दिएको बताएका छन् । सेकरले २०१५ मा विश्वकपको मुखैमा इङल्याण्डको बलिङ कोचबाट समेत अचानक राजीनामा दिएका थिए ।
सेकरले टिमका मुख्य कोच जस्टिन लेंगरसँग लामो परामर्श गरेपछि पद छाड्ने निर्णय गरेका हुन् । उनी जुलाइ २०१६ देखि अस्ट्रेलियाको बलिङ कोच थिए । हेड कोच लेंगरका अनुसार उनीहरु २ जनाबीच विगत ९ महिनादेखि टिममा सेकरको भूमिकाबारे चर्चा चलिरहेको थियो । लेंगरले पनि टिमको सर्वोत्तम हितको लागि निर्णय गर्ने यो सही समय भएको बताए । लेंगरले सेकरलाई उनको अहम योगदानको लागि धन्यवाद समेत दिए ।
मिचेल स्टार्क, जोश हेजलउड र प्याट कमिन्सजस्ता तीव्रगतिका बलर तयार गर्ने काममा अहम भूमिका निर्वाह गरेका सेकरले आफूले अस्ट्रेलिया टिमसँग बिताएको समयमा आनन्द लिएको बताएका छन् । उनले विगत तीन सत्रमा अस्ट्रेलिया टिमको कोचको भूमिका दिएकोमा क्रिकेट अस्ट्रेलियालाई धन्यवाद दिए । क्रिकेट अस्ट्रेलियाले अस्थायी रुपमा ट्रोय कोलेलाई बलिङ कोच नियुक्त गरेको छ । कोलेले विश्वकपअगाडि भारत र पाकिस्तानविरुद्ध हुने अस्ट्रेलियाको वनडे सिरिजमा टिमको बलिङ कोचको भूमिका निभाउनेछन् । विश्वकपसम्म पुग्दा स्थायी रुपमा बलिङ कोच नियुक्त गर्ने क्रिकेट अस्ट्रेलियाको योजना छ ।