३० कार्तिक २०८१, शुक्रबार
एजेन्सीःलेबनानकी नेता रया अल हसन अरब देशहरुकै पहिलो महिला गृहमन्त्री भएकी छन् ।
उनी पहिलो महिला गृहमन्त्री बनेपछि अहिले विश्वमा चर्चा भैरहेको छ । हसनले बुधबार गृहमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन् ।
अमेरिकाको जर्ज वाशिंगटन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनले यसभन्दा पहिले सन् २००९ मा लेबनानको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनी अरब देशहरुमै अर्थमन्त्री बन्ने पहिलो महिला पनि हुन् ।
हसनले पदभार ग्रहण गरेसँगै लेबनानी प्रधानमन्त्री साद हरीरीले ट्वीट गर्दै भनेका छन्, ‘हामीलाई लेबनानका महिलामाथि, सरकारका महिला मन्त्रीमाथि, अरब जगतकै पहिलो महिला मन्त्रीमाथि, भविष्य तथा लेबनानमाथि नै गर्व छ ।
पीटीआईले जनाएअनुसार रहया अल हसन लेबनान सरकारको ३० सदस्यीय मन्त्रिमण्डलका चार महिला सदस्यमध्येकी एक हुन् । उनी हरीरीको फ्यूचर मुभमेन्ट पार्टीकी सदस्य पनि हुन् ।
अरब देशहरुमा त्यहाँको सरकार प्रमुखपछि गृहमन्त्रीलाई शक्तिशाली मानिन्छ । त्यसकारण पनि हसन गृहमन्त्रीमा नियुक्त भएको समाचारलाई महत्वका साथ हेरिएको छ ।