हिरो महिला फुटबलः उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै

होमल्याण्ड खबर

२०७५ फाल्गुन ३ गते, शुक्रबार १०:०६ मा प्रकाशित

भारतमा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शुक्रबार नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ६ बजे सुरु हुनेछ ।

नेपाल समूह उपविजेताको रुपमा र म्यानमार समूह विजेताको रुपमा फाइनल पुगेको हो ।

पहिलो खेलमा म्यानमारसँग ३–० को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो भने अन्तिम खेलमा इरानलाई ३–० ले पराजित गरेसँगै नेपालको फाइनल पुगेको हो ।

यसैगरी म्यानमारले समूह चरणका तीन खेलमा जित हासिल गरी समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

पहिलो खेलमा नेपाललाई ३–० ले, दोस्रो खेलमा इरानलाई २–० ले र भारतलाई २–० ले पराजित गरी म्यानमार फाइनलमा पुगेको हो ।

नेपालको राष्ट्रिय महिला फुटबल टिम पहिलो पटक उपाधि भित्राउने लक्ष्यमा रहेको छ ।

फाइनलमा आज नेपालले म्यानमारसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिने प्रयासमा हुने छ । म्यानमार पनि लगातार अपराजित रहँदै प्रतियोगिता टुंग्याउने तयारीमा छ ।