प्रजातन्त्र दिवस भोलिदेखि शुरु: भव्यताका साथ टुँडिखेलमा मनाइँदै

होमल्याण्ड खबर

२०७५ फाल्गुन ५ गते, आईतवार १४:५० मा प्रकाशित

६९ औं प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म सैनिकमञ्च, टुँडिखेलमा भव्यताका साथ मनाइँने भएको छ ।

यसै अवसर पारेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसम्बाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो ।

नेपाल टेलिभिजन र रेडियो नेपालबाट फागुन ७ गते उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र अन्य टेलिभिजनहरुले ‘हुक’ गर्नसक्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले सो व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सोही अवसरमा दूरसञ्चार प्राधिकरणमार्फत दूरसञ्चार प्रदायक संस्थाहरुले प्रजातन्त्र दिवसका शुभकामना सन्देश प्रवाह गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको थियो ।