८ मंसिर २०८१, शनिबार
नेपालको यातायात प्रणालीलाई डिजिटल बनाउने उद्देश्यका साथ कार्यालय भेन्चर्स प्रा. लि. को इन्फर्मेसन टेक्नोलोजी कम्पनी कार्यालय आइटीले दुई भाषामा प्रयोग गर्न सकिने नेपालकै पहिलो र विस्तृत सार्वजनिक यातायात एप ‘मोटरभाडा’ र बिटुबि एप ‘मोटरभाडा कम्पनी’को सुरुवात गरेको छ ।
एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध मोटरभाडा एपले अब हाम्रो यात्रालाई धेरै सहज बनाउनेछ किनकि यो एपबाट प्रयोगकर्ताले मोटर भाडा, रुट, नजिकैको स्टेसन, गाडी आउने समय, लाइभ ट्रयाकिङ र प्रत्यक्ष ट्राफिक अपडेट सजिलै प्राप्त गर्न सक्नेछन् ।
यसैगरी, यसको बिटुबी एप मोटरभाडा कम्पनी एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध छ । यस एपबाट सार्वजनिक सवारी, भाडाका सवारी, गैरसरकारी संस्था, ट्राभल एजेन्सी, विद्यालय, अस्पताल, सरकारी तथा निजी संघ–संस्था र कुनै समूह वा व्यक्तिले प्रत्यक्ष आफ्नो गाडी ट्रयाक गर्न सक्नेछन् ।
यस एपमा भएको प्रोफाइल, स्टार्ट, नोटिफिकेसन, ट्राफिक जाम, खाना, गाडी बिग्रियो, दुर्घटना, बन्द-हडताल, प्राकृतिक प्रकोप, बाटो निर्माण, मेडिकल इमर्जेन्सी र सुरक्षा जाँच जस्ता फिचरहरूबाट कम्पनीले रियल–टाइममा सजिलै आफ्नो गाडीको जानकारी र अवस्था थाहा पाउन सकिनेछ । यो विशेष सेवाका लागि कम्पनीहरूले पहिला दर्ता गर्नुपर्ने हुन्छ ।
“यो डिजिटल जमानामा हामीले स्मार्ट सहरको कुरा गरे पनि यसको सबैभन्दा महत्वपूर्ण पक्ष नेपालको सार्वजनिक सवारी प्रणालीलाई नै सधैं भुल्दै आइरहेका छौं । त्यसैले मोटर भाडादेखि गाडीको प्रत्यक्ष ट्रयाकिङ सबै एपमा दिने उद्देश्यले हामीले यो एप ल्याएका हौं,” कार्यालयको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
“हामीले लगातार हाम्रो एप मोटरभाडा अपडेट गरिरहेका छौं र जब हामीले हाम्रो बिटुबी एप मोटर भाडा कम्पनीमा कम्पनीहरू दर्ता गर्दै जानेछौं, सो डाटा स्वतः मोटर भाडामा लगातार उपलब्ध हुँदै जानेछ । त्यसैले हामी हाम्रा प्रयोगकर्ताहरूलाई अपडेटेट रहिरहन आग्रह गर्दछौं,” कम्पनीले भन्यो ।
एपका संस्थापक कार्यालयका प्रसुन तिमिल्सिना र सुजित धौबन्जार हुन् भने सौर्य ऊर्जा उद्यमी सौरभ तिमिल्सिना यसका प्रवद्र्धक हुन् ।