कोटेश्वर–कलङ्की सडकको बाहिरी लेनको आधा काम सकियो

होमल्याण्ड खबर

२०७५ फाल्गुन ८ गते, बुधबार १४:०५ मा प्रकाशित

कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ । १०.४ किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

कोटेश्वर–कलङ्की सडक चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माण भई गत महीना चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियोे । सडकमा आठ लेन चिनियाँ निर्माण कम्पनीले तथा दुई लेन नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनले भने, “चाँडो काम सक्न लागिपरेका छौँ ।”

नेपाल सरकारले वार्षिक छुट्याएको बजेटबाट काम गर्नुपर्ने हुँदा केही भागमा निर्माणको काम सकिएको र केही भागमा धमाधम काम भइरहेको शर्माले बताउनुभयो । अघिल्लो वर्षसम्म सडकको आठ लेनमा निर्माण जारी रहँदा यी दुई लेनमा भने सडक छेउमा रहेका संरचना हटाउन नसक्दा काममा ढिलाइ भएको थियो । उनका अनुसार सडकमा मुख्य चार लेन, सहायक चार लेन र सर्भिस ट्र्याक दुई लेन रहेको छ । उनले भने,“चालकले सर्भिस ट्र्याकबाट प्रवेश गरेर नै सहायक लेन हुँदै मुख्य लेनमा प्रवेश गर्न मिल्छ ।”