२९ फाल्गुन २०८२, शुक्रबार
सरकारी चिकित्सकहरूले आज शुक्रबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने भएका छन् ।
समायोजन प्रक्रियामा असहमति जनाउँदै चिकित्सकहरूले शुक्रबार सेवा ठप्प पार्न लागेको सरकारी चिकित्सक संघ नेपाल गोदानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


समायोजन विधेयक विधेयक सच्याउन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री सुरेन्द्र कुमार यादवसँग आग्रह गर्दा पनि सुनुवाई नभए पछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको सरकारी चिकित्सा संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
गोदनको आह्वानमा काठमाडौं उपत्यकाका चिकित्सकहरुले शुक्रबार बिहान १० बजे वीर अस्पतालबार्ट र्याली निकालेर माइतीघर मण्डलामा कोण–सभा गर्ने तयारी गरेका छन् ।
चिकित्सकहरूको आन्दोलनका कारण सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन नहुने भएको छ ।
चिकित्सकहरूले सरकारले माग सम्बोधन नगरे सामूहिक राजीनामा दिने तयारीस्वरूप हस्ताक्षर संकलनलाई समेत तिव्रता दिएको गोदानका महासचिव डा. रविन खड्काले जानकारी दिए ।
संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त विधेयक सच्याउन सरकारसँग आग्रह गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।