पुन टेण्टर आव्हान गरेर भएपनि मेलम्चीको पानी चाँडै ल्याउँछौं : मन्त्री मगर

होमल्याण्ड खबर

२०७५ फाल्गुन १० गते, शुक्रबार १६:४० मा प्रकाशित

खानेपानी मन्त्री विना मगरले पुन टेण्टर आव्हान गरेर भएपनि मेलम्चीको पानी काठमाडौं ल्याईने प्रतिवद्वता जनाएकी छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा खानेपानी मन्त्रालयसंग सम्बन्धीत प्रश्नोत्तर कार्यक्रमम सहभागी हुदै उनले पुन टेण्टर आव्हान गरेर बाकी काम सम्पन्न गरी मेलम्चीको पानी काठमाडौं ल्याईने बताएकी हुन्।

सिएमसीले आयोजनाको काम विचमै छोडेर हिडेपछि केही अन्योल उत्पन्न भएको भएपनि पुन टेण्टर आव्हान गरेर काम सम्पन्न गर्ने तयारीमा मन्त्रालय लागेको बताएकी हुन्। पुन टेण्टर गराउने सम्बन्धमा कामहरु भईरहेको पनि उनले स्पष्ट पारिन्। उनले मेलम्चीमा कसैको कुनै पनि गिद्दे नजर पर्न नदिने दाबा गरिन्।

आफूले मन्त्रालयको जिम्मेवार सम्हालेपछि मेलम्ची खानेपानी आयोजनाको मुलभुत र महत्वपूर्ण काम सम्पन्न भएको दाबी उनले गरे। उनले मिडियाले नियोजित ढंगले आफ्ना विरुद्ध प्रचारवाजी गरेको भन्दै आक्रोश पोखिन्। आफु आएपछि सिएमसीलाई मन्त्रालयबाट ८४ करोड १५ लाख रुपैया भुक्तानी भएको भन्दै उनले ‘मन्त्रीले एक अर्ब खायो ’भनेर मिडियाले प्रचारवाजी गरेको गुनासो गरिन्।

सचिवको सरुवा स्वभाविक भएको भन्दै उनले मेलम्चीलाई प्राथमिकतामा राखेर काम गर्न आफुले दिएको निर्देशन अनुसार सचिवले काम नगरेको दाबी गरिन। उनले सचिवले कमिशन मागेको विषयलाई आफुले आधिकारिक रुपमा कही पनि नउठाएको स्पष्ट पारिन्। आयोजनाले विगारेका सडकहरु छिटो मर्मत गरिने आश्वासन पनि उनले दिइन्।

सांसद डिला संग्रौला पन्तले मेलम्ची खानेपानी आयोजनाद्वारा वितरित खानेपानी काठमाडौं बासीले कहिले पिउन पाउछन् भनी प्रश्न गरेकी थिइन्। मन्त्रीको जवाफपछि सांसद पन्तले सिएमसी कम्पनी किन फर्कियो ? जिम्मेवारीबाट हटाईएका सचिवबाट के कुरा मिलेन ? भनी पुरक प्रश्न गरेकी थिइन्।

त्यसैगरी सांसदहरु राजेन्द्र कुमार केसी, महेश बस्नेत, गगन थापा, प्रेम सुवाल, बहादुर सिंह लामाले पनि मन्त्रीलाई पुरक प्रश्न गरेका थिए। सांसद थापाले सिएमसिका बारेमा तात्कालिन पर्यटन सचिव गजेन्द्र ठाकुर र मन्त्री मगरका मिडियामा आएका भनाई उदृत गर्दै सत्य तथ्य जानकारी गराउन माग गरेका थिए।