सामसुङले बिक्री गर्यो दुई अर्ब भन्दा बढी ग्यालेक्सी स्मार्टफोन

होमल्याण्ड खबर

२०७५ फाल्गुन १२ गते, आईतवार १५:०० मा प्रकाशित

एजेन्सी। दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०१० मा ग्यालेक्सी सिरिजका स्मार्टफोनको सुरुवात गरेको थियो । यसबीचमा ग्यालेक्सी सिरिजको १० वर्ष पूरा हुनुअघि नै कम्पनीले सफलताको एउटा ठूलो कोशेढुंगा पार गरिसकेको कम्पनीका प्रमुख कार्यकारी डि जे कोहले जानकारी दिएका छन् ।

अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित अनप्याक्ड २०१९ इभेन्टमा कम्पनीका सिइओ कोहले सार्वजनिक गरेको तथ्यांकअनुसार सामसुङले अहिलेसम्म २ अर्ब भन्दा धेरै गोटा ग्यालेक्सी स्मार्टफोन बिक्रि गरिसकेको छ ।

बिक्रि भएका २ अर्ब फोनमध्ये अधिकांश ग्यालेक्सी एस र ग्यालेक्सी नोट फोन रहेकोमा कुनै आशंका छैन । त्यसका साथै ग्यालेक्सी ए, ग्यालेक्सी सी तथा ग्यालेक्सी जे जस्ता कतिपय मोडेल समेत विश्वका विभिन्न देशमा लोकप्रिय रहेका छन् । यी सबैलाई जोडेर बिक्रिको आँकडा २ अर्ब पार गरेको हो ।

यसैबीच बुधबार सामसुङले आफ्नो ग्यालेक्सी एस १० सिरिजका ३ वटा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । त्यसमा ग्यालेक्सी एस १०, ग्यालेक्सी एस १० ई र ग्यालेक्सी एस १० प्लस रहेका छन् । ग्यालेक्सी एस १० सिरिजका स्मार्टफोन लञ्च गरेसँगै सामसुङले आफ्नो पहिलो फोल्डेबल फोन पनि लञ्च गरेको छ ।