सेनालाई ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्यमा हातेमालो गर्न प्रधानमन्त्रीको निर्देशन

होमल्याण्ड खबर

२०७५ फाल्गुन २० गते, सोमबार १२:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायीक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । सेना दिवशका अवसरमा सोमबार शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्,‘राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अंगका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री ओलीले देश समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढीरहेकोले सेनाले पनि त्यसै मर्म अनुसार काम गर्न अग्रसर हुनुपर्ने सन्देशमा उल्लेख गरेका छन् ।

‘नेपाल निर्माणसम्मको यात्रामा नेपाली सेनाले निर्वाह गरेको भूमिका र पु¥याएको योगदान इतिहासको स्वर्णीम पानामा अंकित भइरहनेछ’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकलदर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।’

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा प्राकृतिक विपत्तिहरुका वखत उच्च हौसला, जोश र सेवा भावका साथ उद्दार कार्यमा खटिने समस्त सैनिकहरुप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली सेनाले विगतमा झैं आउने दिनमा पनि सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारीहरु कूशलतापूर्वक यथासमयमै सम्पन्न गर्ने कुरामा आफू विश्वस्त भएको सन्देशमा उल्लेख गरेका छन् ।