शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न सरकारको आग्रह

होमल्याण्ड खबर

२०७५ फाल्गुन २१ गते, मंगलवार १०:१९ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठनपाठन नरोक्न आन्दोलित शिक्षकलाई सरकारको चेतावनी रहेको बताएको छ ।

राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्‍याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गीत नहुन सम्बन्धित पक्षमा आह्वान पनि गरिएको छ ।

वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहल कदमी लिन स्थानीय तहलाई स्मरण गराएको हो ।

मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । शिक्षकले विभिन्न सेवा सुविधा र स्थायीको माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् ।